आइतवार, चैत्र २९ २०७७११:१६:१७
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका ६ वटा सामुदायिक विद्यालयलाई अनुदानमा बस उपलब्ध गराएको छ।
नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै सामुदायिक विद्यालयमा लगानी बढाउँदै लगेको नगरपालिकाले यसअघि बस सेवा नभएका र विद्यार्थी संख्या धेरै भएका विद्यालयलाई बस उपलब्ध गराएको हो।
निजी विद्यालयले घर आँगनमै यातायातका साधन पठाईदिँदा बालबालिकाहरू निजी विद्यालयतर्फ आकर्षित हुने गरेकोले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बस प्रदान गरेको नगरपालिकाले जनाएको छ।
तिलोत्तमाले यसअघि नगरक्षेत्रका सबै सामुदायिक विद्यालयमा एकै प्रकारको रङ लगाउने र तल्लो तहका विद्यार्थीहरुलाई खाजा कार्यक्रम सुरू गरिसकेको छ। विद्यालयमा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको आकर्षक बढेको भन्दै पछिल्लो पटक बस उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।
आईतबार नगरक्षेत्रभित्र रहेका श्री पशुपति माध्यमिक विद्यालय, श्री शिवपूर माध्यमिक विद्यालय, श्री जनजागृति माध्यमिक विद्यालय, श्री जनता माध्यमिक विद्यालय र श्री जनभावना माध्यमिक विद्यालयलाई एकएक वटा बस प्रदान गरिएको छ। त्यस्तै गिर्वाण माध्यमिक विद्यालयलाई पनि नगरपालिकाले बस प्रदान गरेको छ।
नगरपालिकाको १० लाख रूपैया अनुदान र बाँकी सम्बन्धित विद्यालयको गरि भन्सार छुटमा प्रति बस २१ लाख ९५ हजार रुपैयाँमा ल्याईएको नगरपालिकाले जनाएको छ। बसको विमा र कर भने विद्यालयले आफैं बेहोर्नेछन्।
नगरप्रमुख घिमिरेले नगरपालिका र विद्यालयको अनुदान तथा नेपाल सरकारबाट भन्सार छुट गरी ल्याईएका बसलाई व्यवस्थापकीय कौशलताका साथ सञ्चालन गर्न विद्यालयलाई आग्रह गरे।
घरदेखि टाढा विद्यालय भएका विद्यार्थीलाई भने नगरपालिकाले बस उपलब्ध गराएपछि सहज हुने भएको छ।
नगरपालिकामा यसअघि ५ वटा सामुदायिक विद्यालयले यातायात सेवा प्रदान गर्दै आएको छ। आईतबार ६ वटा विद्यालयलाई बस उपलब्ध गराएपछि यातायातको सुविधा रहेका विद्यालयहरुको संख्या ११ पुगेका छन्।
नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले यसअघि बस सेवा नभएको र विद्यार्थी संख्या बढि रहेका विद्यालयहरुलाई बस उपलब्ध गराईएको जानकारी दिए।

Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology