सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ।
नगर प्रमुख स्तरीय निर्णय अनुसार २०८३ असोज ८ गते दिवा सत्रका कक्षा मात्र बन्द रहनेछन् भने असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका कक्षा बन्द रहने उपमहानगरपालिकाले जनाएको छ।
सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। उपमहानगरपालिकाले बाढी तथा डुबानको जोखिमयुक्त समयमा बालबालिकालाई सुरक्षित राख्न, खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन अभिभावक तथा विद्यालय परिवारलाई अनुरोध गरेको छ।
उपमहानगरपालिकाले उक्त निर्णयअनुसार आवश्यक कार्यान्वयन गर्न नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आग्रह गरेको छ।