शुक्रवार, मंसिर ११ २०८३०९:०८:१८
काठमाडौंः
बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी आज अन्तरराष्ट्रिय दिवस । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ।
बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यका लागि अन्तरराष्ट्रिय दिवसका अवसरमा राष्ट्रसङ्घले यस्तो आह्वान गरेको हो। संयुक्त राष्ट्रसङ्घको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको हो। यस वर्ष पहिलोपटक यो दिवस मनाइँदैछ।
राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो। विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ। प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेको तथ्याङ्कले देखाएको छ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत अक्टोबर ११ मा मनाइएको अन्तरराष्ट्रिय बालिका दिवसका अवसरमा जारी सन्देशमा बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गर्नुभएको थियो।
सन्देशमा उनले बालविवाहको मूल कारण गरिबी रहेको र द्वन्द्व, जलवायुजन्य विपद् तथा विस्थापनका समयमा यसको जोखिम अझ बढ्ने बताएका छन्। बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासबाट बालविवाह रोक्न सकिने उनको सन्देशमा उल्लेख छ।
बालविवाहले बालिकाको शिक्षा प्राप्त गर्ने अवसर गुमाउनुका साथै आर्थिक आत्मनिर्भरता, स्वास्थ्य र व्यक्तिगत स्वतन्त्रतामा समेत प्रतिकूल असर पार्छ। यसले किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जोखिम, लैङ्गिक हिंसा तथा यौन शोषणको सम्भावना बढाउने राष्ट्रसङ्घले जनाएको छ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology