शुक्रवार, मंसिर ४ २०८३११:४०:२०
तिलोत्तमा ,
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दाले अब आफ्नै वडामा न्यून शुल्कमा वरिष्ठ नेत्र विशेषज्ञबाट आँखा परीक्षण गराउन पाउने भएका छन् ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को कार्यालय र नेपाल नेत्रज्योति संघसँग सम्बद्ध रणअम्बिका आँखा अस्पताल, भैरहवा बीच आँखा उपचार केन्द्र सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार वडा नम्बर ६ को सभाहलको माथिल्लो तलामा अस्पतालले आँखा उपचार केन्द्र सञ्चालन गर्नेछ ।
उक्त केन्द्रबाट वरिष्ठ नेत्र विशेषज्ञ (अफ्थाल्मोलोजिस्ट) हरूले बिरामीको आँखा जाँच तथा परीक्षण गर्ने व्यवस्था मिलाइने छ साथैआवश्यकता अनुसार विशेषज्ञ चिकित्सकले बिरामीको आँखा जाँच तथा परीक्षण गर्ने व्यवस्था हुने छ । आँखा परीक्षणका लागि सामान्य शुल्क १५० रुपैयाँ निर्धारण गरिएको भए पनि वडा नम्बर ६ का स्थायी बासिन्दाले भने जम्मा २५ रुपैयाँ मात्रै तिरे पुग्नेछ ।
वडा अध्यक्ष गणेश पाठकका अनुसार सम्झौता बमोजिम आँखा परीक्षण बापत लाग्ने १५० रुपैयाँमध्ये स्थानीय सेवाग्राहीले २५ रुपैयाँ तिर्नुपर्नेछ भने बाँकी १२५ रुपैयाँ वडा कार्यालयले व्यहोर्नेछ । स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गर्न लागिएको वडा अध्यक्ष पाठकले बताउनुभयो ।
वडा कार्यालयले न्यून शुल्कमै वरिष्ठ नेत्र विशेषज्ञबाट आँखा परीक्षण गराउन सकिने भएकाले सम्पूर्ण वडावासीलाई यस अवसरको लाभ लिन तथा समयमै आफ्नो आँखाको जाँच गराउन अनुरोध गरेको छ ।वडामै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि सामान्य आँखा परीक्षणका लागि भैरहवा तथा अन्य स्थानमा पुग्नुपर्ने बाध्यता कम हुनुका साथै स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा वडा कार्यालयले गरेको छ ।