बुधवार, आश्विन १४ २०८३०७:५७:३२
भैरहवा,
रुपन्देहीको मर्चवार गाउँपालिकाको मर्यादापुर वडा नं, ३ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
स्थानीय मर्चवार संचार सहकारी संस्था लिमिटेडको आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा उक्त शिविर संचालन गरिएको हो । शिविरमा स्थानीय तथा आसपासका क्षेत्रका २७५ जना बिरामीहरूको दृष्टि परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ५२ जना बिरामीहरूमा मोतियाबिन्दु फेला परेको छ ।
मोतियाबिन्दु फेला परेका ती सबै बिरामीहरूलाई थप उपचार तथा शल्यक्रिया का लागि भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा रिफर गरिएको छ ।

शिविरमा वरिष्ठ नेत्र अधिकृत संजिव अधिकारी नेतृत्वको चिकित्सक तथा प्राविधिकहरूको टोलीले बिरामीहरूको आँखा जाँच गरेको थियो ।
ग्रामीण क्षेत्रका नागरिकहरूलाई घरदैलोमै आँखा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको अस्पतालका सूचना अधिकारी प्रतिक पाण्डेयले जानकारी दिनुभयो ।