शुक्रवार, श्रावण ८ २०८३०६:०७:५१
बुटवल ,
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का केन्द्रीय अध्यक्ष पदमबहादुर खड्काले निजी स्वास्थ्य संस्थाहरू सरकारका सहयोगीका रूपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको बताएका छन्। उनले निजी स्वास्थ्य संस्थाप्रति सरकारले सौतेलो व्यवहार नगरी समान नीति तथा व्यवहार अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।
अफिन लुम्बिनी प्रदेशको अधिवेशनका सिलसिलामा बुटवल आएका अध्यक्ष खड्काले बुटवल हस्पिटल प्रा.लि. को अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै हस्पिटलको सेवा, व्यवस्थापन तथा भौतिक पूर्वाधारको प्रशंसा गरे।
उनले बुटवल हस्पिटलले सरकारी हस्पिटलको तुलनामा अझ व्यवस्थित र सुविधासम्पन्न सेवा प्रदान गरिरहेको उल्लेख गर्दै राजधानी काठमाडौंका धेरै हस्पिटलको तुलनामा पनि यहाँको सेवा–सुविधा र भौतिक संरचना उत्कृष्ट रहेको बताएका छन् ।
हस्पिटल अवलोकनका क्रममा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्नु प्रसाद पौडेलले यस क्षेत्रका बिरामी सामान्यदेखि जटिल उपचारका लागि काठमाडौं वा अन्य सहर जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले आधुनिक स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउन हस्पिटल विस्तार गरिएको जानकारी दिएका छन् ।