शनिवार, पौष १३ २०८१०१:४५:४६
बुटवल ,
नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीले “मानवीय सेवामा हातेमालो अभियान” आजदेखि सुरु गरेको छ ।
अभियानले जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा रक्तदानका साथै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।
हिजो शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अशेष सिलवालले रगतको अभावलाई कम गर्न र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने हेतुले अभियान संचालन गर्न लागिएको बताउनुभयो ।
उहाँले “रक्तदान जीवनदान हो” भन्ने नारालाई व्यवहारमा उतार्दै १६०० युनिट रगत संकलन गर्ने महत्त्वाकांक्षी लक्ष्य लिइएको र यसले रगत अभावका कारण समस्या भोगिरहेका बिरामीहरूलाई ठुलो राहत पुग्ने बताउनु भयो ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मानसिक स्वास्थ्य, नसा रोग, रक्तचाप, मधुमेह लगायतका रोगहरूको निःशुल्क परामर्श र उपचार सेवा प्रदान गरिने अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।
साथै, नियमित स्वास्थ्य परीक्षण पनि अभियानको मुख्य अंशका रूपमा रहने बताउनु भयो ।
डावर नेपाल, रेडक्रस, रोटरी क्लब, तथा विभिन्न औषधि कम्पनीहरूको आर्थिक र प्राविधिक सहयोगमा यो अभियान अघि बढिरहेको अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।
अभियानको पहिलो चरण आज रोहिणी गाउँपालिकाबाट सुरु भई मायादेवी, कोटहीमाई लगायत अन्य गाउँपालिकाहरूमा विस्तार गरिने केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले बताउनु भयो।