Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

नियमकानून बमोजिम नै टेण्डर प्रक्रिया अगाडि बढाइएको आँखा अस्पतालको दावी

नियमकानून बमोजिम नै टेण्डर प्रक्रिया अगाडि बढाइएको आँखा अस्पतालको दावी


  • 1.8K
    SHARES

  • नियमकानून बमोजिम नै टेण्डर प्रक्रिया अगाडि बढाइएको  आँखा अस्पतालको दावी

    भैरहवा, 


    श्री रण अम्बिका शाह आँखा अस्पताल सिद्धार्थनगर, भैरहवाले संस्थाको विधि–विधान तथा प्रचलित नियमकानून बमोजिम स्वीकृत बोलपत्र किताबको अधिनमा रही टेण्डर प्रक्रिया अगाडि बढाइएको दावी गरेको छ ।

    अस्पताल प्रशासनले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी केही दिन अगाडि भवन निर्माणको टेण्डर सम्बन्धमा निर्माण व्यवसायीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा राखिएका धारणाहरुको खण्डन गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    ‘तोकिएको समयभित्र दर्ता हुन आएका १७ वटा बोलपत्रहरुमध्ये प्राविधिक मूल्यांकनबाट स्वीकृत ३ वटा बोलपत्रहरुको प्राविधिक प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना २०८१ जेठ ४ गते ७ दिनको म्याद राखी प्रकाशित गरिएकोमा तोकिएको समयभित्र २ वटा बोलपत्रदाताहरुको गुनासो प्राप्त भएको थियो, ’अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले भने । 

    उनले तत्काल उक्त बोलपत्रहरु असफल हुनुको कारण खुलाई पत्राचार÷ईमेल गरिएको र थप जानकारी आवश्यक परेमा बुझ्न तथा गुनासो भए उपस्थिति हुनको लागि लिखित जानकारी गरिएकोमा कोही पनि उपस्थिति नभएको बताए । 

    ‘साथै प्राविधिक प्रस्तावमा असफल अन्य कोही बोलपत्रदाताहरुले तोकिएको समयमा कुनै गुनासो पेश नगरेको हुँदा नियमानुसार २०८१ जेठ ११ गतेको सूचना प्रकाशित गरी सम्बन्धित सबैमा सूचित गरिएको हो, ’उनले भने ।

    नियमानुसार प्राविधिक प्रस्तावमा स्वीकृत तीनवटा बोलपत्रबाहेक अन्य कुनै पनि बोलपत्रहरुको आर्थिक प्रस्ताव नखोलिएको र ती बोलपत्रहरु शिलबन्दी रुपमै कार्यालयमा सुरक्षित रहेको अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    eeoff.jpg

    केही पक्षले नियमानुसार र प्रक्रियागत रुपमा भएका कार्यलाई आफू अनुकुल व्याख्या गरी संस्थालाई दुःख र हैरानी दिने उद्देश्यले पत्रकार सम्मेलन गरी गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिहरु दिई भ्रम सृजना गर्ने कार्यहरु भइरहेकाले यसप्रति संस्थाको गम्भिर ध्यानाकर्षण भएकाले यसप्रकारका भ्रामक अभिव्यक्तिहरुको खण्डन गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।

    प्राविधिक रुपमै प्रस्ताव स्वीकृत गर्न योग्य नठानिए पछि कतिको टेण्डर परेको छ भनेर आर्थिक पाटो नै नहेरिएको र योग्यमध्येबाट नव सिर्जनशीललाई छनोट गरिएको दावी अस्पतालको छ । ‘केही कम्पनीको अनुभव कागजात थिएन, कतिको बैंक भौचर र कतिको कम्पनी अद्यावधिक समेत थिएन, त्यसैले १४ वटा निर्माण कम्पनीका प्रस्ताव अस्वीकृत भएका हुन्’, अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले भने । परामर्शदाता कर्मा कन्सल्टेन्ट, काठमाडौंका इन्जिनियर दिनेश बस्यालले ठेक्का प्रक्रिया नियमसंगत नै भएको दावी गरे ।

    ‘हामीले शिलबन्दीमा जति कागजात छन्, प्राविधिकरुपमा त्यसैलाई मान्यता दिने हो । कागजात पुगेका कम्पनीको सोहीअनुसार छनोट गरेका छौं, ’ उनले भने । कागजात नपुगेका कम्पनीको आर्थिक प्रस्ताव नखोलिएकाले कसले कति रकमको प्रस्तावसहित ठेक्का हालेका थिए भन्नेबारे जानकारी नभएको बस्यालले दावी गरे । 

    टेण्डर हालेका दर्जन कम्पनीलाई पन्छ्याएर मिलेमतोमा आफू निकटका व्यवसायीलाई ठेक्का दिइएको भन्दै लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले पत्रकार सम्मेलन गरेपछि अस्पताल प्रशासनले त्यसको खण्डन गरेको छ ।

    अस्पतालले गत जेठ १६ गते अस्पतालको अपरेशन थिएटर तथा वार्ड भवन निर्माणका लागि बोलपत्र सम्बन्धि सूचना प्रकाशित गरेको थियो ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार