बिहिवार, मंसिर १० २०८३११:१८:४०
कावासोती ,
पूर्वी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप जिप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
गएराति लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा राति १०:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १३ जनामध्ये ८ जनालाई थप उपचारका लागि राति ११:५५ बजे चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ ।
रिफर गरिएकामध्ये मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका १८ वर्षीय अश्विन चौधरी (मुख र छातीमा चोट) र २० वर्षीय निर्मल चौधरी (टाउकोमा चोट) को अवस्था गम्भीर रहेको छ ।
घाइतेमध्ये ५ जना भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका छन् ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology