सोमवार, मंसिर ७ २०८३१०:४८:५१
काठमाडौं ,
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज महत्वपूर्ण भेटघाट गर्दैछन्।
आइतबार दिल्ली पुगेका शाहले ताज होटल पुगेको केहीबेरमै भारतीय विदेशमन्त्री एस जयशंकरले उनीसँग शिष्टाचार भेट गरे।
प्रधानमन्त्री शाह मन्त्रीहरू, उच्च सरकारी अधिकारी, उद्योगी–व्यवसायी तथा पत्रकार सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्लीमा छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो राजकीय भारत भ्रमण हो।
ताज होटलमा भारतीय विदेशमन्त्री जयशंकरले भ्रमणका विषयवस्तु र त्यसबाट हासिल हुन सक्ने उपलब्धिबारे प्रधानमन्त्री शाहसँग छलफल गरेका थिए।
प्रधानमन्त्री कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जयशंकरसँगको भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, विशेषगरी सम्पर्क सञ्जाल (कनेक्टिभिटी), व्यापार, पारवहन, वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धमा सहकार्यका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज हैदराबाद हाउसमा भेटवार्ता गर्ने तालिका छ। त्यस क्रममा नेपाल र भारतबीच आर्थिक साझेदारी, यातायात सम्पर्क सञ्जाल (कनेक्टिभिटी), डिजिटल कनेक्टिभिटी, जलस्रोत, ऊर्जा, व्यापार, खेलकुद, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएको १० बुँदे दृष्टिपत्र संयुक्त विज्ञप्तिसँगै सार्वजनिक गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन्।
भ्रमण टोलीमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले यो भ्रमण ऐतिहासिक हुने विश्वास व्यक्त गरे। वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल नेपालले भारतसमक्ष उठाएका विभिन्न विषयमा सहमति जुटाउन आफ्ना भारतीय समकक्षीसँग सक्रिय रूपमा छलफलमा छन्। छलफलका क्रममा रहेका विषयमा आर्थिक साझेदारी, सीमा तथा सीमांकन, व्यापार, पारवहन, जलस्रोत, ऊर्जा, शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुद छन्।
शाहसँगको भेटपछि नै जयशंकरले परराष्ट्रमन्त्री खनालसँग पनि छलफल गरेका थिए।
नेपाली प्रतिनिधिमण्डलमा रहेका एक अधिकारीका अनुसार शाह र मोदीबीच हुने सीमित सहभागिताको वार्तामा दुवै पक्षका पाँच–पाँच जना हुनेछन्। उक्त वार्तामा आपसी हितका विषय, दुई नेताबीच विश्वासको वातावरण निर्माण, विभिन्न द्विपक्षीय परियोजनामा सहकार्य तथा प्रस्तावित संयुक्त दृष्टिपत्र कार्यान्वयनबारे छलफल हुने अधिकारीहरूले बताएका छन्।
प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मोदीले नेपाली प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्नेछन्। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री बनेपछि पहिलो पटक शाहले पनि सञ्चारमाध्यमलाई सम्बोधन गर्नेछन्। पदभार सम्हालेयता उनले नेपाली सञ्चारमाध्यम वा पत्रकारसँग संवाद गरेका छैनन्। आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा मोदीसँगै संयुक्त पत्रकार सम्मेलनमा उनी सहभागी हुने कार्यक्रम तय भएको छ।
आजै दिउँसो सवा ३ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
राष्ट्रपतिसँगको भेट सकिएलगत्तै दिउँसो ४ बजेर ५० मिनेटमा उनी नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यतालिका छ।