मंगलवार, मंसिर १ २०८३०९:५८:१६
काठमाडौं ,
नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताको प्लेअफ चरण आजदेखि सुरू हुँदैछ।
पहिलो क्वालिफायरमा लिग चरणको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरू हुनेछ। आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
लिग चरणमा दुवै टोलीले समान पाँच खेल जितेका थिए। लुम्बिनीले सात खेलबाट पाँच जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा ११ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको थियो। सुदूरपश्चिमले पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थानमा लिग चरण टुंग्याएको थियो।
गत संस्करणको विजेता लुम्बिनी यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा छ। राष्ट्रिय टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै लिग चरणमा आफूलाई बलियो टोलीका रूपमा प्रस्तुत गरेको छ।
यता, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम पनि लगातार तेस्रो संस्करण प्लेअफमा पुगेको छ। अघिल्ला दुई संस्करणमा फाइनल खेलेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ।