शनिवार, कार्तिक १४ २०८३०१:४३:४९
हेटौँडा ,
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह निरन्तर बढ्दै गएको छ । जलाशयको पानीको सतह एक हजार ५२७.९३ मिटर पुगेको छ ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको जलसतह बढ्ने क्रम तीव्र भएको हो ।
जलसतह बढ्दै गएपछि आयोजनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आयोजनाले पहिलो चरणको चेतावनी जारी गर्दै जलसतह सन्तुलित राख्न ड्यामका ढोका खोल्नुपर्ने अवस्था आएमा थप सूचना दिइने र चेतावनीको साइरन बजाइने जनाएको छ ।
आयोजनाले ड्यामको तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपास बसोबास गर्ने सर्वसाधारणलाई खोला किनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।
साथै देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
कुलेखानी जलाशयको अधिकतम पानी भण्डारण क्षमता एक हजार ५३० मिटर रहेको छ ।