बुधवार, आश्विन ७ २०८३१२:१४:४८
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज पालिका तहको अधिवेशन हुँदैछ।
स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाअन्तर्गत असोज ३ गते वडा अधिवेशनबाट सुरू भएको महाधिवेशन अब पालिका तहमा पुगेको हो।
देशभरका अधिकांश वडामा शान्तिपूर्ण रूपमा नेतृत्व चयन भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा ५ जना पदाधिकारी निर्वाचित हुनेछन्।
जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहनेछन्। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने व्यवस्था छ।
पालिका कार्यसमितिका सदस्यतर्फ प्रत्येक वडाबाट एक महिला र एक खुला सदस्य, युवा क्लस्टरबाट एक महिला र दुई खुला सदस्य तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन्।
कार्यसमितिलाई थप समावेशी बनाउन गाउँ कार्यसमितिमा सात, नगर कार्यसमितिमा नौ, उपमहानगर कार्यसमितिमा ११ र महानगर कार्यसमितिमा १३ जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था छ।