आइतवार, श्रावण ३ २०८३१०:४९:२६
काठमाडौं ,
फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेताका लागि साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार (नेपाली समय अनुसार राति १२ः४५ बजे फाइनल खेल न्यूयोर्क न्यू जर्सी स्टेडियममा सुरु हुनेछ ।
शैली र रणनीतिका हिसाबले भिन्न मानिएका यी दुई फुटबल महाशक्तिबीचको फाइनललाई हेरिएको छ।
युरोपेली च्याम्पियन स्पेन सेमिफाइनलमा बलियो दाबेदार फ्रान्सलाई पूर्ण रूपमा निरिह बनाउँदै फाइनलमा प्रवेश गरेको हो।
समूह 'एच' को पहिलो खेलमा केप भर्डसँग अप्रत्याशित गोलरहित बराबरीमा रोकिए पनि स्पेनले साउदी अरबलाई ४–० र उरुग्वेलाई १–० ले पाखा लगाउँदै नकआउट चरणको यात्रा तय गरेको थियो। राउन्ड अफ ३२ मा अस्ट्रियामाथि ३–० को सहज जित निकालेको स्पेनका लागि त्यसपछिका दुई खेल भने निकै कठिन रहे।
पोर्चुगल र बेल्जियमविरुद्धको खेलमा मिडफिल्डर मिकेल मेरिनोले अन्तिम समयमा बचाउ खेल खेल्दै निर्णायक गोल गरे र टोलीलाई अघि बढाए।
सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेन १६ वर्षपछि पुनः उपाधि नजिक पुगेको हो।
अर्कोतर्फ, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फाइनलसम्म आइपुग्न निकै उतारचढाव र रोमाञ्चक बाटो तय गरेको छ।
समूह चरणमा अल्जेरिया (३–०), अस्ट्रिया (२–०) र जोर्डन (३–१) लाई पन्छाउँदै शतप्रतिशत नतिजा निकालेको अर्जेन्टिनाका लागि नकआउट चरण भने अग्निपरीक्षा जस्तै बन्यो।
राउन्ड अफ ३२ मा केप भर्डको चुनौती पन्छाउन अर्जेन्टिनालाई अतिरिक्त समय कुर्नुपर्योभ। राउन्ड अफ १६ मा इजिप्टविरुद्ध ७९औँ मिनेटसम्म २–० ले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिनाले ३–२ को ऐतिहासिक पुनरागमन जित निकाल्यो।
क्वाटरफाइनलमा १० खेलाडीमा खम्चिएको स्विट्जरल्यान्डविरुद्ध पनि टोलीले अतिरिक्त समयमै संघर्ष गरेर जित निकाल्यो भने सेमिफाइनलमा इङ्ल्यान्डको सुरुवाती अग्रतालाई एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोल मद्दतमा २–१ ले तोड्दै फाइनल टिकट काट्यो।
कतार विश्वकप २०२२ को विजेता अर्जेन्टिना लगातार दोस्रो पटक र समग्रमा सातौँ पटक फाइनल पुगेको हो।
यी दुई टोली ६० वर्षपछि पहिलो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि सन् १९६६ को विश्वकपमा यी दुईबीच एकमात्र खेल भएको थियो, जसमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो।
कुल १३ मैत्रीपूर्ण खेलहरूमा भने स्पेनले ६ र अर्जेन्टिनाले ५ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएको छ। दुई टोलीबीचको पछिल्लो भेट सन् २०१७ मा भएको थियो, जहाँ स्पेनले अर्जेन्टिनालाई ६–१ को भारी गोल अन्तरले पराजित गरेको थियो।