Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

फिफा विश्वकप प्रतियोगिता भोलि जुन ११ बाट सुरु हुँदै

फिफा विश्वकप प्रतियोगिता भोलि जुन ११ बाट सुरु हुँदै


  • 841
    SHARES

  • फिफा विश्वकप प्रतियोगिता भोलि जुन ११ बाट सुरु हुँदै

    काठमाडौं ,

    फिफा विश्वकप प्रतियोगिता भोलि जुन ११ बाट सुरु हुँदै छ ।

    उत्तर अमेरिकाभरि ऐतिहासिक उद्घाटन समारोहहरूको शृंखलासहित बिहीबारबाट सुरु हुँदै छ । पहिलोपटक विश्वकपलाई तीन आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा उद्घाटन गर्नेछन् ।

    तीनवटै देशमा उद्घाटन समारोह हुन लागेको यो पहिलोपटक हुनेछ । प्रतियोगिता जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्युयोर्कमा हुने फाइनलसँगै समाप्त हुनेछ ।

    तीनै देशमा आयोजना गरिने समारोहहरू एउटै साझा विषयवस्तुमा आधारित हुनेछन्, जसको उद्देश्य तीन आयोजक राष्ट्रलाई एकताबद्ध रूपमा प्रस्तुत गर्नुका साथै उनीहरूको संस्कृति, पहिचान र सिर्जनात्मकतालाई देखाउने बताइएको छ ।

    प्रत्येक समारोह सम्बन्धित देशको उद्घाटन खेल सुरु हुनुभन्दा ९० मिनेटअघि सुरु हुनेछ ।

    जस्तै, क्यानडाको प्रस्तुतिमा बहुसांस्कृतिक समाजलाई जोड दिइएको छ भने मेक्सिकोको प्रस्तुतिमा परम्परागत पपेल पिकाडो कलामा जोड दिइने बताइएको छ । अमेरिकाको प्रस्तुति भने चम्किलो विश्वकप ट्रफीको अवधारणामा आधारित छ ।  

    उद्घाटन समारोहलाई लिएर फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भनेका छन्, “फिफा विश्वकप यस्तो क्षण हो जसलाई सम्पूर्ण विश्वले साझा गर्छ र त्यो हामीले यसलाई कसरी सुरु गर्छौँ भन्नेबाट प्रारम्भ हुन्छ ।”


    मेक्सिको सिटीको उद्घाटन लगभग १६ मिनेट ३० सेकेन्डको हुनेछ । टोरन्टोको लगभग १३ मिनेट र लस एन्जलसको समय लगभग १३ मिनेटको हुने बताइएको छ ।

    कार्यक्रम सकिएपछि टोलीहरूले मैदानमा वार्मअप गर्नेछन् । त्यसपछि खेलाडी प्रवेश र औपचारिक परिचय कार्यक्रम खेल सुरु हुनुभन्दा २५ मिनेटअघि सुरु हुनेछ ।

    मेक्सिको सिटीमा मेक्सिको र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।

    टोरन्टोमा क्यानडा र बोस्निया हर्जगोभिनाबीच अनि लस एन्जलसमा अमेरिका र पाराग्वेबीच पहिलो खेल हुनेछ ।

    मेक्सिको सिटीमा जुन ११ गते उद्घाटन समारोह मेक्सिको सिटी रंगशालामा हुनेछ ।

    समारोहमा मेक्सिकन संस्कृति झल्काउने आदिवासी कलाकारहरू, आधुनिक लोकनृत्य प्रस्तुति तथा परम्परागत पपेल पिकाडो कलाको प्रदर्शन हुनेछ । त्यहाँ प्रसिद्ध गायिका साकिराले ‘दाइ दाइ’ गीत प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । उनीसँगै बुर्ना ब्याय पनि सहभागी हुनेछन् ।

    साकिराले जुलाई १९ मा हुने विश्वकप फाइनलको पहिलो हाफ टाइम शोमा  म्याडोना र बीटीएससँग प्रस्तुति पनि दिने कार्यक्रम छ ।

    मेक्सिको सिटी प्रशासनले भोलि जुन ११ मा सार्वजनिक बिदा घोषणा गरिसकेको छ । 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार