आइतवार, जेठ २४ २०८३०८:३९:११
काठमाडौँ.
परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।
आइतबार साँझ स्वदेश फर्किएपछि खनालले नेपाल र भारतबीच विद्यमान सीमा विवाद समाधान गर्न दुवै देशका संयन्त्रहरूले काम थालेको बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको दाबी गर्दै नेपाल–भारत सम्बन्धलाई व्यवहारिक र प्रविधिमैत्री बनाउने दिशामा ठोस प्रगति भएको बताए। ‘सीमासँग सम्बन्धित विषयलाई कुटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै पोजिसन हो। अहिले सोही ढंगले संयन्त्रले काम गरिरहेका छन्। अहिले कूटनीतिक ढंगबाट समाधान गर्ने भन्ने ढंगमा छलफल भयो।’
खनालले भ्रमणका क्रममा सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इण्डियाबीच भएको समझदारीअनुसार व्यक्तिदेखि व्यक्तिसम्म हुने सीमापार भुक्तानी कारोबारको पूर्ण सञ्चालन शुरु गरिएको गर्ने आपसी समझदारी भएको बताए।
उनले प्रविधिको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङअन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतको डिजिटल इण्डिया भाषिनी डिभिजनबीच ‘भ्वाइस फस्र्ट’ भाषा अनुवाद मञ्च विकासका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार सहनिर्माण गर्ने सम्झौतापत्र आदानप्रदान गरिएको समेत जानकारी दिए।
मन्त्री खनालले भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनको विषयमा समेत छलफल भएको उल्लेख गर्दै छिटै प्राविधिक समितिको बैठक बस्ने जानकारी समेत दिए।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology