शुक्रवार, जेठ ८ २०८३०७:०८:४५
काठमाडौँ ,
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता गर्ने आदेश गरेको छ।
न्यायाधीश हिमलाल बेलबासेको आजको इजलासले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
अब लामिछाने माथि यहाँ सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम रहेको छ।
तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत रविको दुईवटा कसुर झिक्ने र सहकारी ठगीसम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन परेको थियो।
आदेशमा भनिएको छ, ‘निवेदकको माग व्यहोरा मनासिब रहेको देखिँदा निवेदन मागबमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मुल थप र पूरक अभियोग पत्रहरूमा सहकारी ठगीको अभियोग दावी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको अभियोग दावी कायम नरहने गरी संशोधन गरिदिएको छ ।’