बिहिवार, श्रावण ३१ २०८११२:२९:१२
काठमाडौं,
भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारले तयारी गरेको छ।
यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिने तयारी गरेको छ।
दुई विमानस्थल पूर्ण क्षमतामा चलाउने विकल्प र उपायबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिएर भए पनि पूर्ण क्षमतामा विमानस्थल सञ्चालन गर्ने निचोडमा सरकार पुगेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा निश्चित समयका लागि सहुलियत दिन लागिएको जानकारी दिए।
‘जुन किसिमले विमानस्थल चल्नुपर्ने हो त्यसरी चल्न सकेन। विमानस्थल बनाउनको लागि लिएको ऋणको साँवाब्याज तिर्न पनि नसकिने हो कि भन्ने अवस्था सिर्जना भयो,’ मन्त्री पाण्डेले कुराकानीमा भने, ‘विमानस्थल सञ्चालनमा देखिएका कठिनाइ निराकरण गर्न प्रधानमन्त्रीको नेतृत्वमा अर्थ, परराष्ट्र, श्रम र उद्योग वाणिज्य मन्त्रालयका मन्त्रीसहित छलफल गरिएको छ।’
मन्त्री पाण्डेका अनुसार आगामी २०८३ भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ।
कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरूले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउण्ड ह्याण्डलिङमार्फत लिने सेवा शुल्क आगामी २०८३ भदौसम्म नलिने योजना बनाएको उनले बताए।
पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिन लागेको उनको भनाइ छ।
सरकारले हवाई टिकटमा लगाउने गरेको भ्याट पनि आगामी २०८३ भदौसम्म नलिने योजना रहेको उनले बताए।
इन्धनको विषय उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिने गरी कार्ययोजना बनेको मन्त्री पाण्डेको भनाइ छ।
अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरको लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना बनेको मन्त्री पाण्डेले जानकारी दिए।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology