बुधवार, बैशाख १ २०७८०२:५४:५७
काठमाडौं :
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा सरकारले उल्लेखित प्रगति हासिल गरेको बताएका छन्। प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले अनेकन असहज परिस्थितिका बाबजुत २०७७ साल सफल वर्षको रुपमा रहेको बताएका हुन्।
कोभिड १९ को महामारीले विश्व नै आक्रान्त भएको बेला त्यसको असर नेपालका सबै क्षेत्रमा परेको भए पनि २०७७ सालमा ठूला दीर्घकालीन महत्वका काम भएको दाबी गरे। उनले प्रतिकूलताका बीच २०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको वर्ष रहेको बताए।
कोभिड १९ महामारीसँगै मुलुकमा केही राजनीतिक अस्वस्थता देखापरे पनि गत वर्ष उपलब्धिको वर्ष रहेको उनले बताए। दशकौँपछिको सफलता प्राप्त गर्दै मेलम्चीको पानी काठमाडौं आइपुगेको, अतिक्रमित भूमि फिर्ता, पुनर्निर्माणका कामहरूले पूर्णता पाउने क्रम तीव्र गतिमा बढेको तथा नयाँ नयाँ असाधारण र दुरगामी महत्वका कामहरू बढेको पनि उनले उल्लेख गरे।
उनले आफ्नो भूभागसमेत सामेल गरेर नया नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरव बढाएको र सबैमा आत्मविश्वास बढाएको दाबी गरे। सरकारले सातै प्रदेशमा ठूला ठूला नयाँ औद्योगिक क्षेत्रको शिलान्यास गरेको र लगानीका लागि शान्तिपूर्ण र अनुकूल वातावरण बनेको उनले उल्लेख गरे।
कोभिड १९ महामारीको प्रतिकूल अवस्थामा पनि अनलाइन र विभिन्न माध्यमका शिक्षण विधि अघि सारेर बालबालिकालाई शिक्षा प्रदान गरिएको र सामाजिक जनजीवनलाई सामान्य अवस्थामा राख्ने प्रयास गरेको दाबी पनि उनले गरे। कोभिड १९ को महामारी कसैका लागि पनि सकारात्मक नभएको भन्दै उनले त्यसबाट अर्थतन्त्रलगायत विभिन्न क्षेत्रमा असर पुर्याए पनि सरकारले नागरिकको जीवनरक्षालाई प्राथमिकता दिँदै आएको स्पष्ट पारे।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology