बिहिवार, चैत्र १९ २०७७१०:४४:२८
चैत १९, २०७७ बिहिबार
काठमाण्डाै – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको १७ औँ बैठकमा पाँचौ शिखर सम्मेलनको घोषणापत्रबारे छलफल भएको छ ।
श्रीलङ्काले गरेको भर्चुअल बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो ।
अतिकम विकसित र भूपरिवेष्टित विकासोन्मुख देशहरूको उन्नतिका लागि सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी, पर्यटन र कृषि प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने आवश्यकतामा नेपालले जोड दिएको छ ।
सम्मेलनलाई सम्बाेधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेक जस्तो गतिशील सङ्गठनले आर्थिक वृद्धिलाई बढावा दिने, नवप्रवर्तन बढाएर विकास र समृद्धिलाई टेवा दिन सक्ने बताउनुभयो ।
साथै उहाँले बिमस्टेक देशका नागरिकलाई गरिबी र भोकमरीविरुद्ध लड्दै मर्यादित रोजगारीको सुनिश्चितता तथा दिगो जीवनयापन झनै चुनौतीपूर्ण बनेको बताउनुभयो ।
बैठकले पाँचौँ शिखर सम्मेलनमा आपराधिक गतिविधि नियन्त्रण गर्न पारस्परिक सहायतासम्बन्धी बिमस्टेक सन्धि, कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण केन्द्र स्थापना गर्नेसम्बन्धी नियम, बिमस्टेक राष्ट्रका कुटनीतिक प्रतिष्ठान/प्रशिक्षण प्रतिष्ठानबीच पारस्परिक सहयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका लागि सिफारिस पनि गरेको छ ।
बिमेस्टेकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड छन् ।