बिहिवार, भाद्र १८ २०८३०५:३५:३०
कपिलवस्तु,
रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुले बाढी पीडितहरूको राहतका लागि ५७ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले बाढीप्रभावितहरूका लागि स्वेच्छिक योगदान मार्फत सो रकम सहयोग गरिएको बताउनुभयो ।

रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष भट्टराईले विपद्को घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुले गरेको छ ।
क्लबले बाढीपछिको कठिन परिस्थितिमा राहत र उद्धार कार्यमा अहोरात्र खटिने सुरक्षाकर्मी तथा अन्य सहयोगी निकायहरूप्रति आभार व्यक्त गरेको छ ।
देशले भोगिरहेको यस विषम र पीडादायी परिस्थितिमा प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुले आफ्नो सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित सहयोगको प्रयास गरेको जनाएको छ।
क्लबका सम्पूर्ण सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

यसका साथै क्लबले यो संकटको समयमा सम्पूर्ण नेपालीहरूलाई आफ्नो तर्फबाट मानवीय सहयोगमा जुट्न र संकटमा परेका नागरिकहरूलाई साथ दिनसमेत आग्रह गरेको छ ।