बिहिवार, आषाढ १० २०७८१०:४४:४६
काठमाण्डाै
पालिकाले आज आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्दैछन् । ७ सय ५३ पालिकामध्ये कतिपयले यसअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् ।पालिकाले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आउँदो वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै पालिकालाई आउँदो वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ । सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र पालिकाले असार १० गतेभित्र नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी प्रावधान छ ।
संघ र प्रदेश सरकारले पालिकालाई समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन् । आउँदो वर्षको बजेटमा पालिकाले कोरोना महामारी नियन्त्रणसँगै यस अगाडिका अधुरा योजना कार्यान्वयन गर्ने नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएका छन् ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology