मंगलवार, आषाढ ८ २०७८१०:१४:४९
बुटवल ।
बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८÷७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरसभाको नवौं अधिवेशनमा प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा भएको बैठकको दोस्रो सत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख सुवेदीले कोरोना भाइरस महामारीको दोस्रो र सम्भावित तेस्रो लहरसँग जुध्दै त्यसको रोकथाम, व्यवस्थापन र उपचारमा केन्द्रित हुनेगरी कार्यक्रम लक्षित गर्ने नीति लिइएको बताए ।
नीति तथा कार्यक्रम बालबालिकाको स्वास्थ्य र शिक्षा, युवाहरुका लागि रोजगारी सिर्जना र उद्यमशीलता; सीप विकास, जेष्ठ नागरिकलाई सम्मानमा केन्द्रित रहेको नगर प्रमुख सुवेदीकोे भनाई थियो ।
कोभिड महामारीको पहिलो र दोस्रो लहरले सामाजिक र आर्थिक क्षेत्रमा प्रभावित पारिरहेको अवस्थामा ल्याइएको नीति तथा कार्यक्रम रोजगारी सृजना गरी आर्थिक विकासलाई निरन्तरता दिने, अधुरा बार्षिक र बुहबर्षीय योजना सम्पन्न गर्ने, वातावरणमैत्री पूर्वाधार विकास, सामाजिक र आर्थिक विकासबाट नगरवासीको जीवनस्तर उकास्ने, स्थानीय सरकारलाई प्राप्त अधिकारको यथेष्ट प्रयोग गर्ने र स्थानीय सेवा प्रवाहलाई जनमैत्री बनाउने जस्ता कुराहरुमा केन्द्रित छ ।
कोरोना महामारीको सम्भावित तेस्रो लहरको पूर्वतयारी लक्षित ल्याइएको नीति कार्यक्रमले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ ।
महिलाहरुमा स्तन क्यान्सर, प्रसुती तथा गर्भवती परीक्षण, पाठेघर परिक्षण र १४ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य समस्याको पहिचान र उपचारमा सहयोग पुर्याउने उल्लेख गरिएको छ ।
विद्यार्थीहरुमा बढ्दो आँखा सम्बन्धी समस्या समाधान गर्न उपमहानगरपालिकाले सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुको वर्षमा एकपटक निशुल्क आँखा जाँच तथा परामर्श एवं चस्मा र उपचार सेवा संचालन गर्ने घोषणा नीति कार्यक्रम मार्फत् सार्वजनिक गरेको छ ।
तीबाहेक उपमहानगरपालिकाले जटिल र संवेदनशिल मुटु, मिर्गौला, क्यान्सर, अटिज्म, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल ऐनिमियाका बिरामीलाई औषधि उपचार खर्चमा अनुदान दिने नीति लिएको छ ।
बुटवलले गुणस्तरीय शिक्षामा समतामूलक अवसर सृजना गर्दै विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधार गर्ने र सिकाई उपलब्धीलाई मापन योग्य बनाउँदै लैजाने नीति अवलम्वन गरेको छ ।
रोजगार सिर्जनाका लागि उपमहानगरपालिकाले सञ्चालन गरेको उद्यम विकास कार्यक्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिई श्रम बैक र श्रम डेक्स सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै यातायात क्षेत्रका श्रमिक, औद्योगिक क्षेत्रका श्रमिकलाई लक्षित गरी घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने पनि नीति कार्यक्रममा घोषणा गरिएको छ ।।