मंगलवार, जेठ १९ २०८३०१:५२:३५
बुटवल
बुटवल उपमहानगरपालिकाको सहयोग तथा रुपन्देही उद्योग सङ्घको आयोजनामा बुटवलमा सोमबार भएको ‘रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती’ विषयक बृहत् गोष्ठी तथा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रुपन्देहीको आर्थिक मेरुदण्ड नै पर्यटन भएकाले यसको विकासमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।
बुद्ध जन्मस्थल लुम्बिनी मात्र नभई आदिमानव रामापिथेकसको अवशेष फेला परेको स्थल, र सामरिक महत्वको ऐतिहासिक जितगढी किल्ला जस्ता सम्पदाहरूलाई आपसमा जोडेर वृहत् प्रचार गर्नुपर्ने उनको जोड थियो ।

त्यस्तै उपप्रमुख सावित्रादेवी अर्याल र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले देवदह, रामग्राम, कतिलवस्तु र लुम्बिनीलाई समेटेर एउटा एकीकृत बुद्ध परिपथको योजना बनाई नयाँ पुस्तालाई रोजगारीसँग जोड्नुपर्ने धारणा राखे । स्थानीय सरकारले पर्यटन सूचना केन्द्रको स्थापना, ब्रोसर र डिजिटल बुकलेटहरू तयार पार्न नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिइयो ।
नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले व्यवसायीहरूले धेरै ठुलो आशाका साथ यस क्षेत्रमा लगानी गरे पनि सोचेजस्तो सफलता हासिल हुन नसकेको तीतो यथार्थ पोखे । सीमा नाकाबाट भित्रिने पर्यटकलाई सरकारले राष्ट्रिय तथ्याङ्कमा बलियो गरी नजोड्ने प्रवृत्ति बाधक रहेको र गोरखपुर कनेक्टिभिटीलाई नेपाल भित्रिने महत्वपूर्ण खम्बाका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरे, अध्येता एवं प्राध्यापक युवराज कंडेल र लुम्बिनी बौद्ध विश्वविद्यालयका विभागीय प्रमुख डा। श्रीप्रसाद भट्टराईले स्मार्ट डिजिटल पर्फमेन्सको विश्लेषण गर्दा पछिल्लो समय पर्यटनको ट्रेन्ड पहाड र हिमालतर्फ ‘सिफ्ट’ भइरहेको तथ्य उजागर गरे ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसालले कार्यालयले पर्यटन उद्योग, टुर तथा ट्राभल एजेन्सीहरूको दर्ता, नवीकरण र धार्मिक–सांस्कृतिक पूर्वाधार विकासमा काम गरिरहेको बताए ।
प्यानल छलफलमा वरिष्ठ पर्यटन व्यवसायी माधव नेपाल तथा नाटाका पूर्व अध्यक्ष सागर अधिकारी, पर्यटन बोर्डका सुमन घिमिरे प्यानल छलफलमा सहभागी थिए ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र महासचिव सुमन बस्यालले उद्योग र पर्यटन एकापसका पूरक भएकाले निजी क्षेत्र र सरकार मिलेर एक्सन ओरियन्टेड ९परिणाममुखी० काम गर्नुपर्ने बेला आएको बताए ।
लुम्बिनी आउने पर्यटकलाई बुद्ध परिपथका अन्य ऐतिहासिक स्थल र बुटवलका गन्तव्यसम्म डो¥याउने प्याकेज, सिधै अन्तर्राष्ट्रिय हवाई मार्गको सुदृढीकरण, र पर्यटकलाई भुल्ने वातावरण बनाएर मात्रै बसाई लम्ब्याउन सकिनेमा जोड दिइएको छ ।