मंगलवार, चैत्र ३१ २०७७०८:४५:१९
काठमाडौँ —
अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणका आधारभूत सिद्धान्तलाई आत्मसाथ गर्दै कोरोनाले मुलुकमा ल्याएका चुनौती सामना गर्ने गरी बजेट ल्याइने बताए ।
प्रतिनिधिसभा अर्थ समितिको मंगलबारको बैठकमा मन्त्री पौडेललेआगामी आर्थिक वर्षको बजेट कोरोना भाइरसले ल्याएका चुनौती सामना गर्ने गरी तयार भइरहेको बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेटको तयारीबारे समितिमा छलफल भएको थियो ।
जहाँ अर्थमन्त्री पौडेलले बजेट निर्माणको आधारभूत सिद्धान्तहरूलाई आत्मसाथ गरी बजेट कार्यान्वयनको सुनिश्चितता गरेर अनुशासित बजेट निर्माण गरिने बताएका हुन् ।
यस्तै, कोरोनाले सिर्जना गरेको चुनौती र त्यसको सामना गर्ने कुरालाई बजेटले सर्वोच्च प्राथमिकतामा राख्ने पनि मन्त्री पौडेलले जानकारी दिए ।
बजेट निर्माणमा सम्बन्धित मन्त्रालयहरू नै सम्पूर्ण रूपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने पनि उनले प्रतिबद्धता जनाएका थिए ।
आर्थिक वर्षको अन्त्यसम्म पनि आयोजना कार्यान्वयन नहुने अवस्थाका आयोजनाका लागि बजेट विनियोजन गर्ने भन्दा पनि कार्यान्वयनमा गइसकेका र कार्यान्वयनमा जाने चरणमा रहेका आयोजनालाई आवश्यक बजेट विनियोजन गर्ने अर्थमन्त्री पौडेलको भनाइ थियो ।