आइतवार, चैत्र २९ २०७७११:०३:३४
बुटवल चैत्र २९ /
रुपन्देहीको सैनामैना नगरपालिकाले व्यवसायीक कृषि उत्पादनतर्फ कृषकहरुलाई प्रोत्साहन गर्न नगरपालिकाले शित भण्डारण गृहको निर्माण कार्य शुरु गरेको हो ।
नगरपालिकाको वडा नं ३ स्थित मुर्गिया बजारदेखि उत्तरतर्फ रहेको नवनिर्मित साप्ताहिक हाटबजार संगै निर्माण शुरु गरिएको शित भण्डारण गृहको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की र उपप्रमुख बिना रानाले संयुक्त रुपमा शिलान्यास गरे ।
आगामी असार १५ गते भित्रै निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरिएको शितभण्डारण गृहको १ करोड ९६ लाख लागत अनुमान गरिएको छ ।

जसअनुसार पहिलो चरणमा भौतिक संरचना निर्माणको काम श्री लक्ष्मी एण्ड सुजल निर्माण सेवाले ६५ लाख ५१ हजारमा ठेक्का सम्झौता गरेको छ भने दोश्रो चरणमा इलेक्ट्रीकल, मेकानिकल र रेफ्रीजेरेशनको काम शुरु गरिने नगरपालिकाले जनाएको छ ।
५ सय मेट्रिकटन क्षमताको उक्त शितभण्डारण गृहको निर्माण पछि सैनामैनाका ११ वटै वडाका कृषकहरुले लाभ लिन सक्ने नगरपालिकाले दावी गरेको छ ।
नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले कृषि उत्पादन र बजारिकरणलाई प्राथमिकतामा राखि बनाईएको निति तथा कार्यक्रम अनुरुप शित भण्डारण गृह निर्माण गर्न लागिएको जानकारी दिए ।
कार्कीले ११ वटै वडामा आधुनिक प्रविधियुक्त र विषादीरहित अर्गानिक कृषि उपज कसरी उत्पादन गर्न सकिन्छ भन्ने उद्देश्यले आईपिएम कृषि पाठशाला संचालन गरेको बताए ।
नगरप्रमुख कार्कीले आफ्नो खेतको प्रकृति अनुसार कुन जातको धान लगाउन चाहेको हो त्यसको विवरण नगरपालिकाको कृषिशाखामा उपलब्ध गराएको खण्डमा ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने समेत जानकारी दिए ।
त्यस्तै बिउ उत्पादन गर्ने किसानलाई सहज होस् भनेर रामापुर क्षेत्रमा ५० लाख रुपैयाको बिउ भण्डारण केन्द्र समेत निर्माण गर्न लागिएको बताउनुभयो ।
सैनामैनाका गाउनगर कृषक समुहका अध्यक्ष शेर बहादुर केसीले नगरपालिकाले कृषि क्षेत्रमा ल्याएका नयांनयां कार्यक्रमपछि कृषकहरु व्यवसायीक कृषितर्फ आकर्षित हुने गरेको बताए ।
नगर कार्यपालिका सदस्य सबिता भुषाल भण्डारीको अध्यक्षता तथा लक्ष्मी खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा एमालेका जिल्ला सदस्य नर बहादुर घर्ती मगर, नेपाली कांग्रेसका जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्मा, माओवादीका मन बहादुर महत लगायतले भनाई राखेका थिए ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology