शनिवार, पौष ३ २०७८०८:३३:०८
बुटवल ,
स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी तीब्र पारिएको छ ।
उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
मेला सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म करिब तीन सय स्टल दर्ता भइसकेका संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए ।
मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स (आमा नृत्य प्रतियोगिता), हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति, फेशन शो,निशुल्क दन्त शिविर र रक्तदान लगायतका कार्यक्रम आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन् ।
मूलुकको अर्थतन्त्र आयातमूखि र ब्यापारमूखि रहेको सन्दर्भमा उद्योग ब्यापार संघ बुटवलले स्थापनाकालदेखि नै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको पक्षमा वकालत र काम गर्दै आएको हुँदा औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाले स्वदेशी उद्योगका उत्पादनको बजार प्रवद्र्धन, विभिन्न खाले व्यवसाय र सेवाको बजार विस्तार तथा नयां पुस्तालाई उद्यमशील बनाउन उत्प्रेरणा दिन र अर्थतन्त्र चलायमान बनाउन पनि ठूलो भूमिका खेल्ने संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले बताए ।
मेलाले उद्योगी र उपभोक्तालाई एकैथलोमा जमघट गराई उद्योगहरुलाई उपभोक्तामैत्री बनाउन पुलको काम गर्ने तथा रुपन्देही र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन र नेपाली कला संस्कृति संरक्षणमा पनि टेवा पुर्याउने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताए । मेलामा १५ वटा फरक फरक सेल्फी जोन, संख–घण्टसहितका पुजारी रहने गरी ११ थरि देवी देवताका मुर्ति पनि मेलामा रहने संघका महासचिव पदम जीसीले जानकारी दिए । मेलामा आउने दर्शकलाई मास्क र स्यानिटाइजर प्रयोग अनिवार्य गरेर मात्र प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको प्रचार प्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए ।